ताजा समाचार

आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने भएको छ। अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयसमेत सरकारले गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको थियो।

बिहीबार देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका १० दारेभीरमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org