ताजा समाचार

हरित पार्कको शिलान्यास गर्दै वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण

भक्तपुर । ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गरेकी छन् ।

हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको हो ।

“स्वच्छ वायु, स्वस्थ जीवन” भन्ने मूल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नगरपालिकाहरु, विभिन्न सामाजिक संघ संस्था र सुरक्षाकर्मी लगायत सरसफाइ अभियन्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वातावरण संरक्षण र फोहोर न्युनीकरणमा घर टोल, छिमेक र सिंगो समाजको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जागरुक हुनुपर्ने बताइन् । उनले फोहोरको व्यवस्थापन घरबाट नै सुरु गर्नुपर्नेमा जोड दिइन । मन्त्री मगरले भनिन्, “हामीले हप्तौं हप्ता देखि सरसफाइ अभियान चलाईरहेका छौं । सरसफाइ अभियान चलाइ रहनुपर्ने स्थिति आउन नदिन सकेसम्म घरबाटै यसको अन्त्य गर्नुपर्दछ । सरसफाइ अभियान सधैं गरिरहन नपरोस् ।”

प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले वातावरण सफा गरे झैं सबैले मन सफा गर्नुपर्ने धारणा राखे । हाम्रो भावना र सोचाई प्रायः नकारात्मक भएकाले यसको सफाइमा जोड दिनुपर्ने बताए । उनले भने, “ वातावरण सफा गरेर मात्रै हुँदैन । जबसम्म मन सफा हुँदैन तब सबै कुरा नकारात्मक नै रहन्छ । हाम्रो सोचाई सधैं यस्तै रह्यो भने समृद्ध नेपाल बनाउन गाह्रो हुन्छ ।”

कार्यक्रममा हनुमन्ते खोला लगायत भक्तपुर क्षेत्रको सरसफाइ अभियानमा निरन्तर योगदान पु-याएको भनी प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा पतञ्जली योग समिति नेपालका प्रतिनिधि दुर्गा पन्तले योगा गरेर आफ्नो प्रस्तुति देखाएका थिए ।

विश्व वातावरण दिवसको उपलक्ष्यमा सूर्यविनायक चोकदेखि गणेशमन्दिरसम्म सरसफाइ -याली समेत निकालिएको थियो । -यालीमा खानेपानी मन्त्री मगर, प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री बस्नेत, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ र सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा लगायतका व्यक्तिहरुको सहभागी थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org