ताजा समाचार

बाँदरसँगको लडाईमा पूर्वजनमुक्ति सेनाको ज्यान गयो !

अर्घखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ्गमा बाँदरसँग भिड्ने क्रममा भिरबाट लडेर पूर्वमाओवादी लडाकुको ज्यान गएको छ ।

उनी १० बर्षे माओवादी जनयुद्धका पूर्वलडाकु थिए । गाउँमा एउटा साहसिक युवाको नाम थियो विजयी कुँवर । सेना समायोजनपछि वर्हिगमित भएका उनी पाल्पा लगायतका धेरै भिडन्तहरुमा भिँडेको पूर्व माओवादी एवम् स्थानियवासी टिकाराम आचार्य बताउँछन् ।

यसरी सेना प्रहरीसँग धेरै भिडन्तहरुमा भिडेर बाँचेका ३६ वर्षीय कुँवरको मंगलवार विहान बाँदरसँग भिड्ने क्रममा भिरबाट लडेर ज्यान गएको छ ।

किसानहरुको मकै बालीमा यतिबेला बाँदर आतंक बढेको छ । त्यही बाँदर आतंक निस्तेज पार्न गाउँवासीबाट खटिएका कुँवर बाँदर लखेट्दै जाँदा बारीको डिलबाट चिप्लिँदा भिरबाट लडेर मृत्यु भएको स्थानीयवासी तथा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

उनले विश्वकर्मा थरकी युवतीसँग अन्तरजातीय विवाह गरेका थिए । जुन सफल हुन सकेन । तनाव सहन नसकेर उनकी श्रीमतीले केहि वर्षअघि आत्महत्या गरकी थिइन् । बर्हिगमन पश्चात प्राप्त रकमले बुटवलमा व्यवसाय गरेर बसेका कुँवर श्रीमतीले आत्महत्या गरेपछि विक्षिप्त हुँदै बाबुआमासँग बस्न घर फर्किएका थिए । उनी त्यस घरका एकमात्र छोरा थिए ।

घरको आर्थिक अवस्था नाजुक भएपछि अहिले विहान गाउँवासीले चन्दा उठाएर गाडीमा कुँवरको शव पोष्टमार्टमका लागि गुल्मीको सदरमुकाम तम्घासस्थित जिल्ला अस्पतालमा ल्याईपुर्याएका छन् ।

परिवर्तनका लागि जनयुद्ध लडेका कुँवरको अहिले किरिया खर्च चलाउने उपाय समेत नभएकोले नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष भुसाल सहितका स्थानियवासीले सबैसँग सहयोगको अपिल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org