ताजा समाचार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति अबेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

ह्रदयघातका कारण उनको मृत्यु भएको बताइएको छ ।

एक्कासी समस्या देखिएपछि अस्पताल लैजाने क्रममा राति सवा १० बजे उनको मृत्यु भएको कलाकार निर्मल शर्माले जानकारी दिए । बिरामी भएपछि चावहिलस्थित ओम अस्पतालमा लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

भट्टराई उच्च रक्तचाप र सुगरका बिरामी थिए ।

निर्देशक तथा कलाकारसमेत रहेका भट्टराई बोर्डका बहालवाला अध्यक्ष हुन् । दुईवर्षे कार्यकालका लागि सरकारले गत चैतमा भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

उनको शरीर श्रद्धान्जलीका लागि आज दिउँसो २ बजे चलचित्र विकास बोर्डमा राखिने भएको छ । भट्टराईको पार्थिव शरीरसँगै अभिनेता दीपक क्षेत्रीको पार्थिव शरीर आज सोही समयमा बोर्डको प्रांगणमा राखिने छ । क्षेत्रीको मृत्यु ५८ वर्षको उमेरमा शनिबार भएको थियो ।

यसैबीच, नेपाल चलचित्र प्राविधिक संघले आज अध्यक्ष भट्टराईको निधनले नेपाली चलचित्र उद्योगमा अपुरणीय क्षति पुगेको भन्दै उनको सम्झनामा आज चलचित्र सम्बन्धी छायांकन, सम्पादन नगर्न तथा नगराउन सम्पूर्ण चलचित्रकर्मीहरुसँग आग्रह गरेको छ ।

दर्जनौं चलचित्र र टेलिसिरियलमा अभिनय गरेका भट्टराईले ‘आफ्नो मान्छे’, ‘देवर बाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘यात्रा’ लगायत चलचित्र निर्माण गरेका थिए ।

भट्टराईको एक छोरा र श्रीमती छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org