ताजा समाचार

नेकपाका नेता वेदुराम भुसालले ६६ वर्षमा गरे ‘पीएचडी’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको बहुदलीय जनवाद (जबज) लाई स्थगन गरेकै बेला नेकपाका नेताले वेदुराम भुसालले भने जबजमै विद्यावारिधि गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले जबजमा पीएचडी गरी त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सयौं युवा विद्यार्थीहरुको बीचमा नेकपा नेता भुसाल पनि गाउन लगाएर दीक्षित बने ।

उनले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षकमा विद्यावारिधि गरेका हुन् । नेकपाभित्र अध्ययनशील र वैचारिक नेता मानिने भुसाल ४ वर्षअघि पीएचडीको विद्यार्थीका रूपमा भर्ना भएका थिए ।

पार्टीले जबजको सिद्धान्त नै छाडिसकेको अवस्थामा जवजमा पीएचडी गरेका भुसाल आफूले आफ्नो थेसिसको निष्कर्षमा केही तथ्य पेस गरेको दावी गर्छन् । नेकपाको पछिल्लो कार्यक्रम जनताको जनवादका अधिकांश अन्तरवस्तु जबजबाटै जस्ताको तस्तै लिइएको उनले प्रमाणसहित प्रस्तुत गरेका छन् ।

पीएचडी उपाधि लिएपछि भुसालले भने, ‘नाममा भन्दा पनि अन्तरवस्तुमा जानुपर्छ । मैले निष्कर्षमा जबजका कुन–कुन विषय जनताको जनवादमा राखिएका छन् भनेर प्रमाणसहित दिएको छु । माक्र्सवादको उदय, विकास र प्रयोगका सन्दर्भमा जबजको ऐतिहासिक महत्व छ र ती अहिले पनि सही छन् ।

भुसालले मार्क्सवादको उदय र विकास कसरी भयो र त्यसको प्रयोग कहाँ, कसरी गरियो भन्ने विषयमा लामो अध्ययन गरेका छन् । निर्धारित चार वर्षमै विद्यावारिधि सकेका भुसालका गाइड डा.सुरेन्द्र केसी थिए । उनले पेरिस कम्युनदेखि चीनको नयाँ जनवादी व्यवस्थासँग समेत जबजको तुलना गरेको बताए ।

मार्क्सवादका सही अन्तरवस्तुलाई जबजले आत्मसात गरेकाले अहिले पनि यो उपयुक्त रहेको उनले बताएका छन् । रूपमा जनताको जनवाद भनिए पनि सारपक्ष जबज नै भएको भुसालको निष्कर्ष छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org