ताजा समाचार

सुर्खेतमा खानेपानी पुर्‍याउन दुई आयोजनाको काम अघि बढाइँदै

सुर्खेत । खानेपानीको समस्या झेलिरहेको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पानीको आपूर्ति बढाउने उद्देश्यले दुई वटा आयोजनाको काम सुचारु भएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका र सिंगो सुर्खेत उपत्यकामा खानेपानी पुर्याउने उद्देश्यले आयोजनाको काम अघि बढेको छ । गुर्भाकोट नगरपालिकाको वडा नं. ६,७, ८ र ९ का जनतालाई खानेपानी पुर्याउने उद्देश्यले भेरी नदीको पानी पम्पिङ गरेर आयोजना अघि बढाइएको हो ।

सुभाघाट सहरी खानेपानी आयोजनाको नामबाट गुर्भाकोट नगरपालिकामा खानेपानी वितरण गर्ने गरी काम धमाधम अघि बढिरहेको आयोजना प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए । उक्त आयोजनाको निरीक्षण गर्न केही दिनअघि खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दास सुर्खेत पुगेका थिए ।

गत असारमा ठेक्का सम्झौता भएर काम सुरु भएको सुभाघाट खानेपानी आयोजनाको भौतिक प्रगति करिब १७ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत पुगेको आयोजना प्रमुख उपाध्यायले बताए । ६२ करोड लागत भएको यस आयोजनाको काम अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । भेरी नदीको पानी पम्पिङ गर्ने र प्रशोधित गरेर वितरण गर्ने योजना रहेको उपाध्यायले बताए । यो आयोजनाबाट करिब १७ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै सुर्खेत उपत्यका बृहत खानेपानी आयोजना अन्तर्गत मुहान बनाएर पानीको मात्रा परीक्षण गर्ने काम सुरु हुँदैछ । सुर्खेत उपत्यकाका करिब २ लाख जनसंख्यालाई पानी पु(याउने उद्देश्यले आयोजनाको काम अघि बढाउन लागिएको हो । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले यसको काम गरिरहेको छ । मुहान बनाएर भेरीको पानी ल्याउने र सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वाकांक्षी योजना सहित मन्त्रालयले काम अघि बढाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org