ताजा समाचार

बेलायती राजदूत पोलिटले बिहानै प्रचण्डसँग भेट गर्दै सम्झिन् २० वर्षअघिको कुरा

काठमाडाैँ ।  नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले आज (बिहीबार) बिहान सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

काठमाडौंको खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा पुगेर उनले भेटवार्ता गरेकी हुन्।

भेटवार्तामा दुई देशबीच सदियौंदेखिको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गरिरहेको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए।

उनले भने, ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता छ। तपाईंको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु।’

साथै उनले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको धारणा राखे।

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्षअघि शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गरिन्।

उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org