ताजा समाचार

आश्रममा फेला परेनन् ‘तपस्वी’ बमजन, प्रहरीद्वारा मुख्य शिष्य ‘पक्राउ’

काठमाडाैँ ।   बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन्।

बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले पक्राउ लिएको हो।

बिहानै आश्रम पुगेको नेपाल प्रहरीको एउटा टोलीले सोधपुछपछि उनलाई गिरफ्तार गरेको हो। घिसिङका अनुसार प्रहरीहरू नौवटा गाडीमा आएका थिए।

तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम खत्रीले कसैलाई पनि पक्राउ नगरिएको बीबीसीलाई बताए।

आश्रममा प्रहरी आएको थाहा पाएपछि आफूहरू गएको तर प्रहरीले प्रवेश गर्न नदिएको घिसिङको भनाइ छ।

केही प्रहरीहरू अहिले पनि आश्रममै छन्।

आश्रममा छैनन् बमजन
बमजनलाई उनका शिष्यहरू ‘महासम्बोधी धर्मसङ्घ गुरु’ भनेर सम्बोधन गर्छन्।बमजनमाथि हत्या, यौन हिंसा र मानिसहरू बेपत्ता पारेको समेत विभिन्न आरोपहरू लाग्दै आएका छन्।

त्यसबारे थप जानकारी केही बेरमा दिने सिन्धुलीकी प्रहरी प्रमुख रञ्जु सिग्देलले बताइन्। तर बमजनका अनुयायीहरूले त्यो आरोप अस्वीकार गर्दै आएका छन्।

आश्रमबाहिर रहेका घिसिङका अनुसार बमजन भने आश्रममा छैनन्। उनी ‘महाध्यान’ मा रहेको उनको भनाइ छ।

उनले भने, “भौतिक, सांसारिक रूपमा देखिने आवासमा उहाँ हुनुहुन्न। जङ्गलतिर कता हुनुहुन्छ।” यसअघि सिन्धुलीकी प्रहरी उपरीक्षक सिग्देलले बमजनलाई खोज्न प्रहरी गएको जानकारी दिएकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org