ताजा समाचार

सरकारविरुद्ध माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडाैँ।  बालुवाटार जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध मुद्दा चलाएको भन्दै नेपाली कांग्रेसले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

कांग्रेस निकट तरुण दल, नेविसंघलगायतका संघहरुका नेताहरुको विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको थियो

विरोध कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आक्रोश पोख्दै अख्तियारलाई बालुवाटारमा राख्न सुझाव दिए।

उनले भने, ‘टंगालको अख्तियार अब बालुवाटारमा राखे हुन्छ, केपी ओलीले। आफ्नो भ्रातृसंगठन जस्तै बनाए हुन्छ। कम्युनिस्टलाई फाल्छौँ अब। केपी ओलीलाई भन्न चाहन्छु, २६ गते आइतवार यही माइतीघरमा कडा आन्दोलन हुन्छ।’

अध्यक्ष बस्नेतले माधव नेपाललाई कारबाही खै? विष्णु पौडेल र उसको छोरालाई कारबाही खै? भन्दै प्रश्न गरे। उनले आफूहरु उपसभापति गच्छदारलाई बचाउन नआएको बताउँदै समान न्याय चाहिन्छ भनेर लड्न आएको उल्लेख गरे।

त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले देशको न्यायाधीश प्रधानमन्त्री केपी शर्मा ओली बनेको बताए।

‘कमेडियन भएर प्रस्तुत भए। कुनै सिइयो भएको हेर्न चाहेका हैनन्। आफ्नो हनुमान बचाउन लागि परेका छन्। सरकार ढाल्न कुनै आइतवार कुर्नुपर्दैन,’ उनले भने।

उनले आन्दोलनको आँधीबेहरीले सरकारमात्र हैन अख्तियारलाई पनि बगाउने चेतावनी दिए। नेकपा नेता विष्णु पौडेलमाथि पनि कारबाही हुनुपर्ने उनले बताए। आन्दोलन जारी रहने उनको भनाइ थियो।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले गच्छदारसहित १ सय ७५ जनाविरूद्ध मुद्दा दायर गरेको छ। सो मुद्दामा अख्तियारले सत्तापक्षको छायाँमा रहेर प्रतिपक्षलाई फसाएको आरोप लगाउँदै कांग्रेसले विरोध गर्दै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org