ताजा समाचार

नेपाल ट्रष्टको जग्गामा पूर्वअधिराजकुमारी प्रेरणाको दाबी पुग्दैन : सर्वोच्च अदालत

काठमाडौं । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफ्नो दावी गरेको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा नेपाल ट्रष्टको नाममा ल्याउन सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खारेज गरेसँगै छाउनीस्थित स्वर्गीय राजा वीरेन्द्रको नामको सो घरजग्गा ट्रष्टमा ल्याउन बाटो खुलेको हो ।

इजलासले शुक्रबार प्रेरणाको दावी नपुग्ने भन्दै सरकारका नाममा कारण देखाउ आदेश समेत जारी नगरी छाउनीको जग्गामा उनको दावी खारेज गरेको हो । पूर्व अधिराजकुमारीले अन्तरिम संविधान २०६३ आउनुअघि २०५८ सालमै आफूले सो सम्पत्ति दाइजोमा पाएको भन्दै संविधानसँग ऐन बाझिएको दावी सहित रिट दायर गरेकी थिइन् ।

नेपाल ट्रष्टको कार्यालयले गत मंसिर २६ गते सार्वजकि सूचना जारी गरी प्रेरणालाई सो घरजग्गा छाड्न भनेको थियो । त्यसका विरुद्ध उनी अदालत गएकी थिइन् । संवैधानिक इजलासमा न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, अनिल सिन्हा र प्रकाशमानसिंह राउत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org