ताजा समाचार

‘लकडाउन’मा नेपाल : सीमानाका बन्द, अन्तर्राष्ट्रिय उडान र लामो दूरीका गाडी पनि ठप्प

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि अन्ततः नेपाल ‘लकडाउन’ को अवस्थामा पुगेको छ ।

सरकारले आजदेखि चीन र भारतसँगका सबै १ सय ७० सीमानाका समेत बन्द गरेपछि नेपाल ‘लकडाउन’को अवस्थामा पुगेको हो ।

आइतबार साँझको मन्त्रिपरिषद्ले गरेको निर्णय आजदेखि लागु भएको हो । नेपाल भारत सीमा एकसाताका लागि बन्द भएपछि आवातजावत ठप्प भएको छ ।

भारतसँगका १ सय ६४ तथा चीनसँगका ६ वटा सीमानाकामा सुरक्षाकर्मी तैनाथी बढाइएको छ । उपभोग्य बस्तुको आयात नरोकिने बताइए पनि सामान्य अवस्थाको तुलनामा आयात नहुन सक्छ । छिमेकी मुलुक भारतले समेत अन्तरप्रदेश यातायात सेवा बन्दको घोषणा गरिसकेको छ ।

यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै घोषणा गरेको लामो दूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय पनि आजैदेखि कार्यान्वयनमा आएको छ ।

प्रधानमन्त्रीको उक्त घोषणा कार्यान्वयनका लागि आवश्यक कदम चाल्न आइतबार बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैठकले एक जिल्लाबाट अर्को जिल्लामा समेत यात्रु ओसार्न नपाउने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाभित्र छोटो दूरीका सार्वजनिक यातायात चलाउन पाउने तर बाहिर जाने लामो दूरीका सवारी भने रोक लगाइएको छ । उक्त निर्णय उल्लंघन भए कारबाही गरिने यातायात व्यवस्था विभागले चेतावनी दिएको छ ।

लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न नपाउने भन्ने घोषणालाई मात्रै आधार मानेर २ सय ५० किमीसम्म यात्रा गर्न मिल्ने तर्कसहित गाडी कुदाउने तयारी भएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न पनि रोक लगाइएको छ। कुनै निजी गाडीले यात्रु ओसारपसार गरेको फेला परे सरकारले त्यस्ता गाडी जफत गर्ने सरकारले चेतावनी दिएको छ ।

शुक्रबारकै प्रधानमन्त्रीको घोषणा अनुसार अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । दैनिक हुँदै आएको ५० वटासम्म अन्तर्राष्ट्रिय उडान बन्द भइसकेको छ ।

आन्तरिक उडान भने जारी रहेको छ । संक्रमणको अवस्थालाई ध्यानमा राखेर आन्तरिक उडानलाई पनि नियमित गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने सरकारी तयारी छ ।

अतिआवश्यकीय बाहेकका सबै सरकारी, सार्वजनिक, सामुदायिक र निजी कार्यालय, स्कूल तथा कलेजहरु बन्द भइसकेका छन् । मानिसहरुलाई अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ ।

एक सातायता सरकारले गरेका यी निर्णयसँगै मुलुक अब ‘लकडाउन’को अवस्थामा पुगेको छ ।  यद्यपि सरकारी अधिकारीहरुले यसलाई लकडाउन नै भनेर घोषित नगरे पनि मुलुक ‘लकडाउन’को अवस्थामा प्रवेश गरेको नकार्न सक्ने अवस्था छैन, अवको समय अझ सतर्क रहौँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org