ताजा समाचार

कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका १२५ यात्रुको पहिचान

काठमाडाैँ । गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका १२५ जना यात्रुको पहिचान भएको छ।

अब त्यस विमानमा सवार ३३ जना यात्रुको पहिचा बाँकी रहेको छ। चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् ती युवती काठमाडौं उत्रिएकी थिइन्।

उनीसँगै आएका १२५ जना अन्य यात्रुको नाम र ठेगाना पहिचान भइसकेको जानकारी नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापाले   दिएका छन्। ‘हामीले कोरोना भाइरस संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँगै आएका अन्य १२५ जना यात्रुको पहिचान गरिसकेका छौँ’, थापाले भने, ‘सबै यात्रुको नाम र ठेगाना पत्ता लागिसकेकाले उनीहरुसँग स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत सम्पर्क गर्दैछौँ।’ चैत ४ गते कतारबाट आएका कतार एयरवेजका तीनवटा जहाजमा ४६९ जना यात्रु सवार थिए।

किशोरी काठमाडौं आएका दिन कतारका क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ जहाजले उडान भरेका थिए। थापाका अनुसार तीनै उडानका सबै यात्रुको विवरण उपलब्ध भइसकेको छ। त्यही आधारमा युवती सवार उडानका अन्य यात्रुको पहिचा गरिएको हो।  त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलका एक अधिकारीले ती यात्रुका राहदानीसहितका विवरणका प्रतिलिपि नेपाल प्रहरीलाई बुझाइसकेकाले अब उनीहरुको बसोबास रहेको स्थानसम्म पुग्न सहज हुने जानकारी दिए।

प्रवक्ता थापाका अनुसार पहिचान भएका ती यात्रुको घर ठेगानमा स्थानीय प्रहरी युनिटलाई ‘मुभ’ गराइसकिएको छ। ‘स्थानीय प्रहरी युनिटको टोली सम्बन्धित यात्रुको घरसम्म पुग्दैछन्’, उनले भने, ‘पहिचान भइसकेका यात्रुलाई तत्कालै क्‍वारेन्टाइनमा राख्दैछौँ।’ थापाले सुरुमा ती यात्रुलाई क्‍वारेन्टाइनमा राखेपछि बाँकी प्रक्रिया थालिने जानकारी दिए। ‘पहिले उहाँहरुलाई सेल्प क्‍वारेन्टाइनमा राख्दैछौँ।

क्‍वारेन्टाइनमा राखेको अवधिमा कुनै लक्षण या स्वास्थ्य समस्या देखिएमा चेकजाँचका लागि अस्पताल लान्छौँ’, थापाले भने, ‘स्वास्थ्य परीक्षणबाट कोरोना पुष्टि भएमा तत्कालै आइसोलेसनमा लगिने छ।’ फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजतलास थालेको थियो। खोजीका क्रममा बागलुङ, काभ्रेसहितका जिल्लामा केही यात्रु भेटिएका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org