ताजा समाचार

सरकारसँग विदेशबाट फर्किएका ४१ हजारको रेकर्ड, सबैजना निगरानीमा

काठमाडाैँ । सरकारले कोरोना भाइरसको विश्‍वव्यापी संकटका क्रममा अहिलेसम्म ४१ हजार एक सय ४० जना नेपालीहरु स्वदेश फर्किएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म त्यतिका संख्यामा मानिसहरु घर फर्किएको जानकारी। ‘सोमबारसम्मको रेकर्डमा भारतसहित तेस्रो मुलुकबाट फर्किनेको संख्या ४१ हजार एक सय ४० छ’, उनले भने, ‘कोरोनाको सम्भावित जोखिम हेरेर ती सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था पनि आउन सक्छ।’ देवकोटाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको जानकारी दिए।

देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको बताए।  सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको बताउँदै उनले  धरानमा नमुना परीक्षण सुरु भइसकेको जानकारी दिए। सोमबारसम्म १९ वटा नमुना परीक्षण भइसकेको पनि उनले बताए।  डाक्टर देवकोटाका अनुसार, सोमबार धरानमा थप ६ वटा नमुना परीक्षण भएको छ।

धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाइएको छ। पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न उनले आग्रह गरे। जो मर्यो त्यो कोरोनाले मर्यो भन्‍ने किसिमको प्रचार हुनु दुखद भएको उनले बताए।

कोरोना संक्रमण भइसकेपछि पनि १५ प्रतिशत मानिसमा मात्रै जटिल किसिमको लक्षण देखिने र ५ प्रतिशत मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकोले धेरै डर र भय नपाल्न उनले आग्रह गरे।  देवकोटाले प्रत्येक प्रदेशमा १ हजार सेट पिपिई, १० हजार भन्दा बढी मास्क, २० हजार भन्दा बढी ग्लब्स पठाइएको जानकारी दिए। उनले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुँदै पठाइएको बताए। त्यसैगरी क्लोरिन र अन्य सामाग्रीहरु पनि सबै प्रदेशलाई पठाईएको पनि उनले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org