ताजा समाचार

कोरोना महामारी फैलिएका देशबाट नेपालीलाई ल्याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा विदेशमा रहेका आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउनेआवश्यक व्यवस्था गर्न आदेश गरेको हो ।

‘वैदेशिक रोजगारीमा अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई नियन्त्रण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई ध्यानमा राख्दै उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्ने देखिन्छ,’ आदेशमा उल्लेख छ, ‘उनीहरुलाई फिर्ता ल्याउनका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न अन्तरिम आदेश जारी  गरिदिएको छ।’

सर्वोच्च अदालतले कोरोना भाइरसका कारण अन्य मुलुकहरुले पनि आफ्ना नागरिकहरु फर्काइरहेको र विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई फर्काउन दबाबसमेत आएको  भन्दै उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो । वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले सरकारका नाममा आदेश गरेको छ ।

त्यस्तै, विदेशमा रोजगारीका लागि गएकाहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम बिना भेदभाव उपचारलगायतका सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्रमार्फत् कूटनीतिक पहल गर्न भनिएको छ ।

अधिवक्ता सोमप्रसाद लुइँटेलसहितले विदेशमा रोजगारीका लागि गएका नेपालीहरु कोरोनाको महामारीका कारण समस्यामा परेको भन्दै  रिट दायर गरेका थिए ।

सोही रिटमा बिहीबार आदेश गर्दै अदालतले सरकारले तत्काल केही नगर्दा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको शारीरिक, मानसिक स्वास्थ्य र जीवन मात्र जोखिममा नरही उनीहरुसँग आश्रित परिवारको समेत जीवन जोखिममा पर्ने भन्दै उनीहरुको रक्षा गर्ने जिम्मेवारी सरकारकै भएको स्मरण गराइएको छ ।

सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका र सीमानाकामा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश ल्याउन र ल्याउन नसके सम्बन्धित देशमै उचित प्रबन्ध गर्न आदेश गरेको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org