ताजा समाचार

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ ।

सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान पदाधिकारी बैठक बोलाएको हो ।

सरकारले सोमबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश बारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने बताए । कांग्रेसले मंगलबार नै भ्रातृ संगठनहरुसँग सरकारको पछिल्लो कदमका विषयमा ‘भर्चुअल’ छलफलसमेत गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश जारी हुनुलाई ‘आपत्तिजनक कदम’ र ‘गैर जिम्मेवार प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर कोरोना र भोकमरीबाट जनतालाई जोगाउनुपर्ने बेला सत्ताको उन्माद देखाउनु नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन् । उनले भनेका छन्, ‘यो बेमौसमी बाँसुरी हो ।”

संविधान निर्माण गर्दा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको भन्दै देउवाले संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको स्मरण गराएका छन् ।  नागरिक जीवन संकटमा रहेको समयमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले ब्यवस्थालाई हठात उलंघन गरेको कांग्रेसको ठहर छ ।

कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारसँग अपिलसमेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org