ताजा समाचार

कोरोनाले विश्वभर ७८ नेपालीको मृत्यु, पाँचहजार बढी संक्रमणमा

लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (९ मे २०२०)  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिएको एनआरएनको स्वास्थ्य समितिले जनाएको छ ।

कोरोनाभाइरसका कारणले निधन हुनेमा यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् ।  ज्यान गुमाउनेहरुको संख्यामा युके २, स्वीडेन १, बहराइन १, युएई १ थपिएका छन् । यस्तै, संयोजक डा. सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गतसाता भन्दा कम हुदैं गएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी  २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org