ताजा समाचार

लकडाउनको ७३ औं दिनमा खुले न्युरोडका पसल

काठमाडौं । लकडाउन भएको ७३ औं दिनमा काठमाडौंस्थित न्युरोडका पसलहरू खुलेका छन् ।

लामो समयदेखिको लकडाउनका कारण समस्यामा परेको भन्दै व्यवसायीहरूले बिहीबारबाट बिहान ११ बजेसम्म पसल खोलेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा पसल सञ्चालनमा ल्याइएको हो ।

व्यवसायीले लकडाउनका कारण अर्थतन्त्र नै संकटोन्मुख रहेको, राज्यले लकडाउन भएको समयमा पनि कर तिर्न ताकेता गरेको भन्दै विरोध गर्दै आएका छन् । आज केही पसल खुलेको भए पनि भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुला हुने व्यवसायीले बताए ।

महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार सामाजिक दूरी कायम गर्दै पसल सञ्चालनमा ल्याइएको बताए । उनले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुला गर्नुपरेको बताए । उनले लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको बताए । त्यस्तै व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।

बिहीबार न्युरोड, असन, भोटेबहाल लगायतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् ।

यस्तै, न्युरोडका केही व्यापारीले लकडाउनको समयमा पनि कर तिर्न भनेको विषयमा ब्यानर बोकेर विरोध जनाए । उनीहरूले लामो समयसम्म लकडाउन हुँदा व्यापार व्यवसाय गर्न नपाएको, आम्दानी नभएकाले कर तिर्न नसक्ने समेत बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org