ताजा समाचार

विवादित आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार

काठमाडाैँ । चौतर्फी आलोचना भएपछि सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भए/नभएको खुट्याउन आरडिटी गर्ने तयारी रहेको जनाएका छन्।

‘दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएकाहरूको पिसिआर गर्नुपर्दैन। त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने संम्भावना पनि हुँदैन,’ उनले भने।

डा. गौतमले क्वारेन्टिनमा १४ दिन पुगेका मानिसहरू छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नु नपर्ने बताए।

उनी भन्छन, ‘नयाँ मान्छे थपिएको अवस्थामा मात्र त्यहाँ संक्रमणको जोखिम रहन्छ।’

तर सदूरपश्चिममा पहिले र पछि आएकाहरू सबैलाई एउटै क्वारेन्टिनमा राखिएको छ।

क्वारेन्टिन अभाव रहेको भन्दै स्थानीय तहहरूले विद्यालयहरूमा भारतबाट आएकाहरूलाई राख्दै आएका छन्। त्यसरी क्वारेन्टिनमा रहेकाहरू धेरैलाई आरडिटी गर्दै घर पठाइएको छ।

सरकारले सुरूमै आरडिटी किट प्रयोगमा ल्याउँदा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै विज्ञहरूले यसको प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका थिए। तर सरकारले भने पिसिआर भन्दा आरडिटी किटमै जोड दियो।

केही समयअघि पनि भारतबाट आएकाहरूलाई सरकारले भटाभट आरडिटी परीक्षण गर्दै घर पठाएको थियो। तर घर गएर क्वारेन्टिन बसाइमा धेरैमा संक्रमण देखिएको छ।

मन्त्रालयले जारी गरकै कोभिड-१९ टेस्टिङ सम्बन्धी नयाँ निर्देशिकाले पिसिआर परीक्षणलाई कडाइ गरेको छ।

निर्देशिकामा क्वारेन्टिनमा रहेकाहरूको लक्षण देखिए मात्र पिसिआर गरिने कुरा उल्लेख छ। विज्ञहरूले भने यो नीतिले संकट आउनसक्ने जनाएका छन्।

कोरोनाको अधिकांश संक्रमितहरूमा लक्षण नदेखिएको भन्दै यसले संक्रमितहरू नै परीक्षण हुनबाट वञ्चित हुने उनीहरूको दाबी छ। सरकारले भने प्रयोगशालाहरूको क्षमताले नधान्ने स्थिति आएपछि परीक्षणलाई खुम्च्याउने कदम चालेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org