ताजा समाचार

नेपालको संविधान संशोधन राष्ट्रपतिद्वारा प्रमाणीकरण

निशान छापमा समेटिए भारतले मिचेका भूभाग

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग नेपालको निसान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रमाणीकरण गरेकी छिन् ।

विधेयक संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको थियो ।

राष्ट्रिय सभाबाट बिहीबार पारित भएको विधेयक प्रतिनिधिसभाबाट ३१ जेठमा पारित भएको थियो ।  यसअघि राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक, २०७७ सर्वसम्मतिले पारित भएको थियो ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले अतिक्रमित भूमि समेटिएर तयार पारिएको नयाँ नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको संशोधन विधेयक पारित गरेको हो ।

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको पूर्ण सदस्यको दुईतिहाइ आवश्यक थियो ।

यसका लागि बिहीबार मतदान भएको थियो । बैठकमा ५७ जना सदस्य उपस्थित रहेका थिए । मतदानका क्रममा विधेयकको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा राष्ट्रिय सभाका ५७ जना सदस्यले नै मतदान गरे  ।

विपक्षमा शून्य मत रह्यो । राष्ट्रपतिले मनोनीत गर्ने एक पद रिक्त रहेको छ भने मतदानमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएनन् ।

विधेयक संशोधनका लागि दिइएको ७२ घन्टामा कुनै पनि सांसदले संशोधन प्रस्ताव दर्ता गराएनन् ।

यससँगै अब संविधानको अनुसूची ३ मा रहेको निसान छाप फेरिनेछ ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतको भूभाग समेटेर ७ जेठमा नयाँ नक्सा जारी गरेको थियो ।

त्यसपछि अद्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।

विधेयक ९ जेठमा प्रतिनिधिसभामा दर्ता गरिएको थियो भने विधेयक १९ जेठमा प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org