ताजा समाचार

नेकपा स्थायी कमिटी बैठकः ओलीको आलोचनामा उत्रने नेपाल, खनाल र गाैतमको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आज वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायतले आफ्नो धारणा राख्ने कार्यतालिका बनेको छ।

शुक्रवारका लागि बुधवार नै सात एजेन्डा तय भइसकेको छ।

अहिले ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुने स्थायी कमिटीमा तीनै जना नेता ओलीको आलोचनामा उत्रिने योजनामा छन्। बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आलोचना गरेका थिए।

पछिल्लो समय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कामप्रति अन्य नेताहरु असन्तुष्ट हुँदै आएका छन्। उनीहरुले पार्टी र सरकारमा ओली असफल भएको निष्कर्षसमेत निकालिसकेका छन्।

६ महिनापछि बस्न लागेको बैठकमा प्रचण्ड-नेपाल समूहका नेताहरु प्रधानमन्त्री ओलीले राजीनामा नै दिनुपर्ने माग उठाउने तयारीमा समेत छन्। वरिष्ठ नेता नेपालले गत बुधवार नै ओलीले संबोधन गर्दागर्दै बिच्चैमा आक्रोशित भएका थिए।

उनले प्रधानमन्त्री ओलीको एउटै भाषण सुन्दै आएको र पार्टी एकताको जस दुई अध्यक्षले मात्रै लिँदै आएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

प्रधानमन्त्रीले आफ्नै समयमा बोल्नु भन्दै नेपाललाई जवाफ दिएका थिए। बुधवारको बैठकमा नै असन्तुष्टिको संकेत गरेका नेपाल आज कडा रुपमा नै प्रस्तुत हुँदै आएका छन्। अर्का वरिष्ठ नेता खनाल र उपाध्यक्ष गौतम पनि ओलीको कामकारबाही प्रति आक्रोशित हुँदै आएका छन्।

आफू बाहेकका नेताहरुलाई मत्थर बनाउने प्रयासमा ओली क्रियाशील छन्। बिहीवार मात्रै ओलीले अध्यक्ष प्रचण्डसँग स्थायी कमिटीको बैठकमा नेताहरुको आक्रोशलाई मत्थर बनाउने विषयमा छलफल गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org