ताजा समाचार

सहमतिको मिलनबिन्दु पहिल्याउदै ओली-प्रचण्ड

काठमाडौं । सत्तारूढ नेकपामा जारी संकट समाधान गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको छलफलले दुईबीचको आपसी तिक्तता हटाएको नेताहरूले बताएका छन् ।

छलफलले ठोस निकास निकाल्न नसके पनि दुवै अध्यक्ष सहमतिको मिलनबिन्दुको खोजी गर्न सहमत भएका छन् । यद्यपि, शुक्रबारको बैठकमा दुवै जना आआफ्नो अडानबाट टसमस भएनन् । सहमतिको मिलनबिन्दु खोज्नकै लागि शनिबार पुनः दुई अध्यक्षबीच बैठक बस्नेछ ।

शुक्रबार ३ घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् । अर्का अध्यक्ष दाहालले दुईमध्ये एक पद छोड्दा समस्या समाधान हुने बताए पनि ओलीले त्यस्तो कार्य असम्भव भन्दै ठाडै अस्वीकार गरेका छन् ।

अध्यक्षद्वयले पार्टी एकताका क्रममा सहमति हुँदाका दुई साक्षी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई सँगै राखेर छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले आपूm सत्यको पक्षमा हुँदा पनि घेराबन्दीमा पारिएकाले सत्यको पक्षमा अन्तिम समयसम्म लडिरहने र सत्यको जित हुने भन्दै प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेका थिए । तर, दुवै नेता आआफ्नै अडानमा रहेकाले शनिबार बिहान पुनः बैठक बस्ने गरी छलफल सकिएको एक नेताले बताए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले गत ४ मंसिरमा भएको सहमतिअनुसार अगाडि बढ्न दाहाललाई आग्रह गरेका छन् । गत ४ मंसिरमा ओलीले सरकार र दाहालले कार्यकारी अध्यक्षको भूमिकामा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले ४ मंसिरमा भएको सहमतिअनुसार दुवै जना अगाडि बढेमा जारी संकट समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

अर्का अध्यक्ष दाहालले ४ मंसिरमा भएको सहमतिलाई पनि ओलीले नटेरेका कारण समस्या आएको भन्दै गुनासो गरेका थिए । दाहालले पछिल्लो सहमति लागु गर्न पनि ओलीले आलटाल गरेको बताएका थिए । दाहालले अहिले परिस्थित धेरै अगाडि बढिसकेकाले सो सहमतिअनुसार अगाडि बढ्न नसकिने अडान लिएपछि दुई अध्यक्षबीच सहमति जुट्न नसकेको हो ।

छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष पद नछोड्दा आइपर्ने जुनसुकै चुनौती सामना गर्न पनि आपूm तयार रहेको बताए । प्रचण्डले पनि २ जेठ २०७५ मा भएको सहमतिको प्रसंग स्मरण गराएका थिए । सो सहमतिमा दुई अध्यक्षले आधाआधा समय सरकारको नेतृत्व गर्ने भनिएको थियो तर पछि सचिवालय बैठकले सो सहमति खारेज गर्दै ओलीलाई पाँचै वर्ष सरकारको नेतृत्व गर्न दिने र पार्टी प्रचण्डले चलाउने सहमतिसहितको निर्णय गरेको थियो । त्यसपछि पनि दुई अध्यक्षबीच विश्वासको संकट हुँदै आएकाले समस्या भएको स्थायी समितिका एक सदस्यले बताए ।

यस्ता हुन सक्छन् सहमतिका मिलबिन्दु
– ओली अध्यक्ष र प्रधानमन्त्री दुवै रहने
– प्रचण्डले पार्टीलाई कार्यकारी अध्यक्षका रूपमा कमान्ड गर्ने
– ओलीले पार्टीको सल्लाहमा सरकार सञ्चालन गर्ने
– पार्टीले सरकारको कामको स्वामित्व लिने
– मन्त्रिमण्डल विस्तार तथा रिक्त पदमा नियुक्ति गर्दा समानता र योग्यताका आधारमा गर्ने
– वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्षको हैसियत दिने

विवाद मिलाउन युवा नेताको सक्रियता
सत्तारूढ दल नेकपाका देशभरका नेता र कार्यकर्ताले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउनुपर्ने भन्दै शीर्ष नेतालाई खबरदारी गरेका छन् । उनीहरूले मुलुकको विकास र समृद्धिको लक्ष्य पूरा गर्न एकजुट भएको नेकपालाई कसैले पनि फुटाउन नहुने र फुटाउनेहरू आफैं पतन हुने भएकाले सचेत रहन शीर्ष नेताको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

पार्टीलाई एकजुट बनाउन जिल्लाभरका आमनेता तथा कार्यकर्ताको दबाब आइरहेको समयमा शुक्रबार नेकपाका दोस्रो तहका युवा नेताहरूले पार्टीभित्रको संकट छिटोभन्दा छिटो समाधान गर्न शीर्ष नेतृत्वलाई सतर्क पारेका छन् । यसैगरी, पार्टीका केन्द्रीय सदस्य तथा कार्यकर्ताले पार्टीलाई संकटबाट जोगाउन माग गर्दै पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।

शुक्रबार पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको सरकारी निवासमा भेला भएका पार्टीका दोस्रो तहका नेताहरूले पार्टीमा देखिएको संकट र विवादमा समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका हुन् । छलफलमा सहभागी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले पार्टीमा देखिएको समस्या समाधान गर्दै एकताबद्ध रूपमा अगाडि बढ्नुपर्ने निष्कर्ष भेलाले निकालेको बताए ।

‘अहिले पार्टीमा जुन समस्या देखिएको छ, त्यसको समाधान गर्दै एकताबद्ध रूपमा अगाडि बढ्नुपर्छ,’ रायमाझीले भने, ‘पार्टी नेतृत्वलाई समस्या समाधानका लागि आआफ्नो तर्फबाट दबाब एवं सहयोग गर्ने विषयमा छलफल ग¥यौं ।’

छलफलमा सहभागी स्थायी कमिटीका अर्का सदस्यका अनुसार पार्टी एकीकरणका धेरै काम अहिले बाँकी रहेकाले सहमतिकै आधारमा टुंगो लगाउनुपर्ने हुन्छ । त्यसका लागि दुवै अध्यक्षबीच सहमति एवं सहकार्य आवश्यक रहेको उनले बताए ।

‘पार्टी एकीकरणका धेरै काम टुंगो लगाउन अझै बाँकी नै छ, त्यसका लागि अध्यक्षद्वयबीच सहमति र सहकार्य आवश्यक छ,’ ती सदस्यले भने, ‘पार्टीको महाधिवेशनसम्म आन्तरिक विवाद समाधान गर्दै अघि बढ्नुको विकल्प छैन ।’

शीर्ष नेताहरूबीच बढ्दै गएको दुरी कम गर्ने, एक अर्कालाई विश्वास गर्ने वातावरण निर्माण गर्ने, संवाद र छलफल गर्दै अगाडि बढ्ने, आआफ्ना नेतालाई सहमति र सहकार्यका लागि दबाब दिने जस्ता साझा निष्कर्ष सो छलफलले निकालेको एक नेताले बताए ।

पुल्चोक बैठकमा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल निकटका ११ जना नेताहरू सहभागी भएका थिए । उनीहरूले छलफल र संवादबाटै समस्याको समाधान गर्न निष्कर्ष निकालेका छन् ।
भुसालको संयोजनमा भएको सो छलफलमा युवा नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, विष्णु रिमाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, शक्ति बस्नेत, वर्षमान पुन, मणि थापा र सुरेन्द्र पाण्डे सहभागी थिए ।

पार्टी एक राख्न केन्द्रीय सदस्य नै धर्नामा
यसैबीच नेकपा केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरू एकता, सहमति र सहकार्यका साथै छलफल र संवाद गर्दै अगाडि बढ्नुपर्ने भन्दै दबाबमूलक धर्ना दिएका छन् । उनीहरूले धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

धर्नामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टी विधि, प्रक्रिया र विधानअनुसार चल्नुपर्ने बताए । पार्टीमा व्यापक छलफल गरेर निर्णयका आधारमा पार्टी सञ्चालन हुनुपर्ने उनले बताए ।

धर्नामा सहभागी नेकपा केन्द्रीय सदस्य दिलु पन्तले शीर्ष नेताहरू छलफल र संवाद गर्दै अगाडि बढ्नुपर्ने भन्दै दबाब सिर्जना गर्न लागेको बताइन् । छलफल र संवादको अभावले अहिलेको समस्या बढ्दै गएको उनीहरूले निष्कर्ष निकालेका छन् ।

‘पार्टी बैठकमा छलफल हुनुपर्छ, शीर्ष नेताहरूका बीचमा छलफल र संवाद नभएकाले अहिलेको समस्या बढ्दै गएको छ,’ पन्तले भनिन्, ‘पार्टीभित्र गर्नुपर्ने छलफल अन्त्य गरेर केही नहुने भएकाले बैठकमा छलफल गम्भीर रूपमा हुनुपर्छ ।’

पन्तका साथै धर्ना कार्यक्रममा जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, रामुकारी झाँक्री, हिमाल शर्मा, प्रेमल खनाललगायतका केन्द्रीय सदस्यका साथै पार्टीका कार्यकर्ता सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org