ताजा समाचार

प्रचण्डसहितका नेता राष्ट्रपतिकहाँ जाँदै, दुई अध्यक्षबीच भेटवार्ता हुँदै

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदै छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् । ओलीलाई भेट्न प्रचण्ड बिहान साढे १० बजेतिर बालुवाटार जान लागेको स्रोतले बतायो ।

सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन लागेको नेताहरु बताउँछन् ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ । ओलीले दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने एउटा पद भए पनि छाड्नु पर्ने ओली इतर समूहको दबाब छ ।

दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । तर, हालसम्मका वार्ताले सहमतिको प्रयास असफल हुँदै गएपछि नेकपा विभाजनउन्मुख रहेको चर्चा चलिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमेत विवादमा पार्टीको विवादमा मुछिएपछि नेकपा अध्यक्ष प्रचण्डसहितका नेता शीतल निवास जाँदैछन् ।

राष्ट्रपति भण्डारीसँग बिहान ११ बजेका लागि भेटवार्ता तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । “पार्टीलाई एकताबद्ध बनाउन हामी अन्तिमसम्म प्रयत्न गर्नेछौं । अहिले राष्ट्पतिसँग भेट गर्दैछौं,” नेता खनालले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org