ताजा समाचार

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएकाले सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे।

कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए। ‘मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, सङ्गठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ’, उनले भने।

प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उनले जोड दिए। प्रहरी सङ्गठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए। उनले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश गरे। उनले तीन तहको राज्य संरचनाअनुसार प्रहरी समायोजन गर्ने अभिभारा प्रहरी महानिरीक्षकसामु रहेको बताए। सरुवा, बढुवा, तथा वृत्तिविकासमा दबाब र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएको उल्लेख गर्दै उनले मूल्याङ्कनमा अब्बल व्यक्ति नै छनोट हुने प्रष्ट पारे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org