ताजा समाचार

यसरी १४ वर्षपछि पक्राउ गरियो दम्पती हत्याका फरार मुख्य अभियुक्त

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ वर्षअघि काठमाडौंमा भएको दम्पती हत्याका एक अभियुक्तलाई सार्वजनिक गरेको छ ।

०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको हत्यामा संग्लन आरोपमा सोही मिलमा कार्यरत जेके भनिने जय किशोर साहलाई सार्वजनिक गरेको हो ।

सर्लाही गयरटोलका ३४ वर्षीय साह र सोही मिलका कार्यरत अर्का मजदुर प्रताप राना मिलेर दम्पतीको हत्या गरेको प्रहरी दाबी छ ।

हत्यापछि उनीहरु दुवै फरार रहेको र फरारमध्ये साहलाई नेपालगञ्जको सीमाक्षेत्रबाट पक्राउ गरिएको सीआईबी प्रमुख डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए ।

फिल्मी शैलीको हत्या

थापाका अनुसार मिलमा काम गर्न सुरु गरेको ६ महिनामै साह र रानाले सुवेदी दम्पतीको हत्या गरेका हुन् ।  काममा चित्त नबुझेपछि ‘राम्रोसँग काम गर्नू’ भनेकै आधारमा साह र रानाले सुवेदीको पूरै परिवारको हत्या योजना बनाएको प्रहरी दाबी छ । सुवेदी दम्पतीको हत्या फिल्मको कथाजस्तै छ । घटनाको समयमा सुवेदीका दुई छोरामध्ये जेठा छोरा १५ वर्षका थिए भने कान्छा छोरा १२ वर्षका थिए ।

जेठा छोरा विलभ सुवेदीमाथि पनि उनीहरुले खुकुरी प्रहार गरेका थिए ।

विलभले भने,“पूरै परिवार मार्ने योजना रहेछ । सुरुमा बुबालाई मारेपछि ममीलाई मारे । त्यसपछि मलाई प्रहार गरे । मेरो शरीरभरी चोट छ । म मरेँ भन्ने ठानेपछि छाडे । भाइलाई पनि मार्न खोजे । तर उसले ढोका थुनेर बसेकाले ज्यान बाँच्यो । त्यो सबै घटनामा मैले हेरिरहेँ ।”

उनले लामो समयपछि प्रहरीले अभियुक्त पक्राउ गरेकोमा न्याय पाएको अनुभुति भएको बताए ।

नेपालमा हत्या भारतमा ‘डान्स टिचर’

अनुसन्धानका क्रममा पक्राउ परेका साह भारतको लखनउमा बस्दै आएका थिए । यहाँसम्मकी उनले आफ्नो पहिचान र परिचय नै बदले ।  सीआईबी प्रमुख थापाका अनुसार उनी भारतमा ‘डान्स टिचर’ भएर बसेको खुलेको छ ।  उनले रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका थिए । साहसँग भारतीय रासनकार्ड समेत छ ।

उनी काम विशेषले नेपाल छिर्दै गरेको सूचनाका आधारमा पक्राउ परेको थापाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org