ताजा समाचार

‘महिलाबाट पीडित पुरुषलाई न्याय पाउनै मुश्किल’, कहाँ जाने न्याय माग्न ?

काठमाडाैँ । महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन्।

विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भएपनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन्। महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए।

राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा सांसद गंगा चौधरीले पीडित पुरुषहरुले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘महिला मात्रै पीडित छैनन्। पुरुषहरु कहाँ जाने न्याय खोज्न? महिलाले पनि पुरुषमाथि अन्याय गरेको छ। श्रीमान विदेशमा काम गर्ने यहाँ श्रीमती अर्कैसँग घुम्ने, भए भरको सम्पती कुम्ल्याउने। विदेशबाट फर्किदा न आफ्नो परिवार न सम्पत्ति, न श्रीमती।’

सांसद हिरा गुरुङले आयोगले सहर केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै पुरुष हिंसाका घटनालाई पनि दायरामा ल्याउनुपर्ने बताइन्। महिला मात्रै हिंसामा पर्ने गरेको नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले आयोगले दुवैै पक्षलाई न्याय दिनुपर्ने बताइन्।

आयोगका सचिव शान्ता अधिकारीले पुरुष हिंसा हुने गरेको भएपनि घटनाहरु बाहिर आउन नसकेको बताइन्। आयोगको कार्यक्षेत्रभित्र पुरुषका घटनाहरु लिन नपाउने प्रावधान रहेको उनको भनाई छ।
उनले भनिन्, ‘विदेश गएका पुरुषका श्रीमती अर्कैसँग गएको सन्दर्भमा त्यहाँ अर्को पुरुषले शोषण गरिरहेको हुन्छ कुनै न कुनै रुपमा।

२०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना घटेका छन्। आयोगको प्रतिवेदन अनुसार सबैभन्दा बढी महिलाहरु मानसिक हिंसाका ५ सय ८९ घटना घटेका छन्। शारीरिक हिंसाका ४ सय ५८, आर्थिक हिंसाका २ सय २४ र यौनजन्य हिंसाका ४७ वटा घटना घटेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org