ताजा समाचार

पहिरोले नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

काठमाडाैँ । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज (सोमबार) बिहानै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ।

अविरल वर्षापछि सडकमा ठूलो पहिरो खसेकाले बिहान पाँच बजेदेखि नै सडकमा गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

‘पहिरो खसेको ठाउँमा डोजर र लोडर पुगिसकेका छन्,’ डिएसपी थापाले नेपालखबरसँग भने, ‘तर, पहिरो ठूलो छ, पहिरो झर्ने र पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने क्रम अझै सुरु भएको छैन।’

पानी पर्न र पहिरो झर्न रोकिएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने जानकारी दिए। पहिरोले दुई वटा बिजुलीका पोलसमेत ढालेको छ। पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाको भनाई छ।

सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौँ सबारी साधनको लाइन लागेको छ। सवारी साधनलाई धादिङ र नारायणगढतिरै रोकिएको थापाले बताए।

नारायणगढ-​मुग्लिन सडक राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हो। धेरै वर्ष लगाएर नारायणगढ–​मुग्लिन सडक खण्डको स्तरोन्नती गरिएपनि पहिरो खस्ने क्रम भने रोकिएको छैन।

वर्खा लागेसँगै यो सडक पटक-पटक पहिरोको कारण अवरुद्ध हुँदै आएको छ। नारायणगढ-​मुग्लिन सडकको चार किलो, १७ किलो, चोरखोला लगायतका ठाउँमा बढीजसो पहिरो जाने गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org