ताजा समाचार

पृथ्वी राजमार्ग अझै खुलेन् , मौवाखोला पुल मर्मत गरिँदै

काठमाडाैँ । बाढीपहिरोले अवरूद्ध पृथ्वी राजमार्ग बिहीबारसम्म सञ्चालनमा आउन सकेको छैन।

सोमबार दिउँसोको बाढीपहिरोले मुग्लिनदेखि नौविसेसम्म साना ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेको थियो।

बाढीले धादिङ र चितवनको सीमामा रहेको मौवाखोला पुलको एकतर्फ करिब १५ मिटर सडक बगाएको थियो। पहिरो हटाउने काम सकिए पनि मौवाखोला पुल मर्मत सकिएको छैन।

शुक्रबार दिउँसोसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम सुरू गरिएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईञ्जिनियर कृष्णराज अधिकारीले मौवाखोलाको पानीलाई मूलधारमा पठाएर भत्किएको सडक मर्मत सुरू गरिएको जानकारी दिए।

नेपाली सेना र कामदाहरूले ग्याबियन भर्ने काम बुधबारदेखि जारी राखेका छन्।

मौवाखोला पुलको टेवा पर्खाल लगाउने काम सकिएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आउने उनले बताए। मौवाखोलामा ४२ जना मजदूरले भत्किएको सडक मर्मतको काम गरिरहेका छन्।

सडक मर्मतका लागि नुवाकोटबाट ग्याबियन ल्याएर ढुंगा भर्ने काम गरिएको हो। वर्षात् थामिएमा शुक्रबारसम्म उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए।

पृथ्वीराजमार्गकै तनहुँस्थित विभिन्न ठाउँमा खसेको पहिरो हटाइसकिएको छ। मुग्लिनदेखि नारायणगढ सडकखण्डका पहिरो पनि हटाइसकिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org