ताजा समाचार

नेकपा केन्द्रीय समिति माग गर्दै महासचिव पाैडेललाई १५० सदस्यको पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै महासचिव विष्णु पौडेललाई पत्र बुझाउने तयारी गरेका छन् ।

पार्टी भित्रको विवाद चर्किदै गएपछि केन्द्रीय समितिको माग गर्दै नेता पार्टी मुख्यालय धुम्बाराही पुगेर पत्र बुझाउने तयारी गरेका हुन् ।

बुधबार दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेर हिमाल शर्मा, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाक्री, कुमार पौडेल, डा. विजय पौडेल लगायतका केन्द्रीय सदस्यसहित १५० सदस्यले हस्ताक्षर गरेको पत्र महासचिव पौडेललाई बुझाउने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओली जारी स्थायी समिति बैठक रोकेर महाधिवेशनमा केन्द्रित भएको भन्दै केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । नेकपाको विधान अनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने हुन्छ । ४४१ केन्द्रीय सदस्यको २५ प्रतिशत ११२ जना हुन्छ ।

केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार अहिलेसम्म १५० जनाको हस्ताक्षरसहितको पत्र तयार भएको छ । ‘हामी केहीबेरमा पत्र बुझाउन धुम्बाराहीमा जाँदैछौँ’, उनले भने, ‘पार्टीको आन्तरिक विवाद केन्द्रीय समितिमा छलफल गरेर टुंगो लगाउनुपर्छ ।’

पार्टी एकीकरणपछि अहिलेसम्म केन्द्रीय समिति बैठक बस्न सकेको छैन । कम्युनिस्ट पार्टीको शक्तिशाली निकाय केन्द्रीय समिति लामो समय बस्न नसक्नु बिडम्बना भएको नेताहरुको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org