ताजा समाचार

‘बग्गीखाना’ पूर्ण सिल, ३ सयभन्दा धेरै ट्राफिक प्रहरी क्वारेन्टाइनमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा ‘बग्गीखाना’ पूर्णरुपमा सिल गरिएको छ।

त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ।

‘अहिले सिल गरेर हामी को को सँग सम्पर्कमा आएका थिए भन्ने लिष्ट बनाउँदै छौं,’ महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो। क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ। उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन्। जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्रफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ।

‘सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई ल्याएर खटाउँछौं। भएका जनशक्तिलाई नै मिलाएर परिचालन हुन्छ,’ एसएसपी ढकालले भने।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ। त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ। २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

प्रदेश नम्बर १ को प्रहरी कार्यालय विराटनगरमा एकै पटक १९ जनामा संक्रमण देखिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org