ताजा समाचार

सिन्धुपाल्चोक पहिरो अपडेट : बेपत्ता ८ मध्ये ५ जनाको शव फेला

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ ।

मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ ।

उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।

प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । डीएसपी काफ्लेका अनुसार उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि धुलिखेल लैजाने तयारी गरिए पनि बाटो अवरुद्ध भएकाले लैजान नसकिएको उनले बताए ।

अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन् । भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org