ताजा समाचार

झापाको मेची अस्पतालमा कोरोना भाइरसको नमूना परीक्षण सुरु

झापा । भद्रपुरको मेची अस्पतालमा सोमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण सुरु हुने भएको छ ।

बुधबारदेखि नियमित पीसीआर परीक्षण गर्ने गरी सोमबारदेखि नमूना परीक्षण सुरु गरिएको हो ।

दुई दिन नमूना परीक्षण गरेपछि नियमित परीक्षण सुरु गर्ने जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताए । ‘सोमबार र मंगलबार नमूना परीक्षण गर्छौं, उनले भने, ‘त्यसलाई क्रस भेरिफिकेसनका लागि विराटनगर पठाउँछौं, रिपोर्ट ठिक देखियो भने नियमित परीक्षण थाल्छौं ।’

मेची अस्पतालमा पीसीआर ल्याब सञ्चालन संयोजक जिल्ला समन्वय समिति प्रमुख रहने छन् । संयोजकको जिम्माअनुरुप मेसिन जडान, कर्मचारीलगायतका व्यवस्थापकीय काम सकेर ल्याब सञ्चालनको लागि तयारी गरिसकेको समन्वय प्रमुख पोर्तेलले जानकारी दिए ।

हाल अस्पतालको ल्याब राखिएको क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । त्यहाँ सम्बन्ध‍ित कर्मचारीबाहेक बाहिरका बिरामी जान सक्दैनन् । प्रदेश सरकारको पहलमा स्थापना गरिएको उक्त पीसीआर ल्याबमा ८ जना कर्मचारी छन् । परीक्षण सुरु भएको केही दिन सम्म २ सिफ्टमा परीक्षण गरिने र क्रस भेरिफिकेसनमा रिर्पोट ठिक देखिन थाल्यो भने ४ सिफ्टमा काम गरिने छ ।

समन्वय प्रमुख पोर्तेलकाअनुसार साउन महिनाभित्र ७ सयको पीसीआर रिर्पोट निकाल्ने गरी काम गरिने छ । मेची अस्पतालमा पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकारले १ करोड रुपैयाँ पठाएको छ ।

त्यही रकमबाट हाल सञ्चालन गरिएको समन्वय प्रमुख पोर्तेलले जानकारी दिए । मेची अस्पतालमा ल्याब सञ्चालनमा आएपछि पूर्वी पहाडका जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ समेतलाई सहज हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org