ताजा समाचार

जोरविजोर उल्लघंन गरेको भन्दै राष्ट्र बैंकको गाडी नियन्त्रणमा

काठमाडौं। ट्राफिक प्रहरीले जोरविजोर सवारी साधनको नियमन उल्लघंन गरेको भन्दै राष्ट्र बैंकका गाडी समेत नियन्त्रणमा लिन थालेको छ।

बैंक तथा वित्तिय संस्था अत्यावश्यक सेवाभित्र पर्छ। ट्राफिक प्रहरीले न्युरोड गेट अघि राष्ट्र बैंकका निर्देशकसहितका कर्मचारी चढेको गाडी विहान नियन्त्रणमा लिएको हो। राष्ट्र बैंकका निर्देशकले परिचयपत्र र ब्लु बुक देखाउँदा समेत प्रहरीले गाडी नियन्त्रणमै लिएको स्रोतले बतायो।

गाडीको ब्लु बुक समेत राष्ट्र बैंकको नाममा दर्ता रहेको देखाउँदा समेत प्रहरीले गाडी नमानेको एक कर्मचारीले बताए। ‘सबै प्रमाण देखाउँदा समेत प्रहरीले गाडी छाड्न मानेन्,’ राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘त्यसपछि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नियमन विभागका प्रमुख देव ढकालले काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेपछि मात्रै गाडी छाडिएको थियो।’ ट्राफिक प्रहरीले भने माथिको निर्देशन अनुसार गाडी नियन्त्रणमा लिएको बताए।

‘सुरुमा हामीलाई सरकारी बाहेक रातो कालो नम्वरका सबै सवारीलाई जोरबिजोर गर्नुपर्ने निर्देशन थियो। त्यही अनुसार कार्यन्वयन गरेका हौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले भने, ‘पछि  उहाँहरुले माथिल्लो निकायमा भन्नु भएको रहेछ। त्यसपछि हामीलाई अहिले कर्मचारीको कार्ड हेर्नु अनि छोड्दिनु भन्ने निर्देशन आएको छ।’

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्त्रिपरिषद्को निर्णय अनुसार जोरविजोर नियम कार्यान्वयनमा ल्याएको बताउँदै काम गर्नेलाई समस्या भएमा सम्वन्धित जिल्ला प्रशासनमा जानकारी दिन समेत आग्रह गरे। ‘यो मन्त्रिपरिषद्को निर्णय नै हो। यदी उहाँहरुलाई काम गर्ने नै समस्या भएमा  सन्वन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिए केही व्यवस्था हुनसक्छ,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org