ताजा समाचार

स्वास्थ्य मन्त्रालयको ब्रिफिङः काठमाडौँमा कोरोना संक्रमणको अवस्था खतराको बिन्दुमा पुग्यो

काठमाडौं । नेपालमा  कोभिड-१९ को संक्रमण बढ्दै गएको छ। साउन ७ मा लकडाउन खुलेयता काठमाडौंसहित देशका विभिन्‍न जिल्लाका प्रमुख शहरहरुमा कोरोना संक्रमण समुदायमा प्रवेश गरिसकेको छ।

एक महिनायता लक्षणसहितका संक्रमित बढ्दै गएका छन्। यस्तोमा संक्रमितहरुमा अनेक खालका जटिलता पनि थपिइरहेको छ। त्यहीकारण मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ। यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा कोरोना संक्रमणको अवस्था खतराको बिन्दुमा पुगेको ब्रिफिङ गरेको छ।

कोरोना संक्रमण दर बढ्दै गएपछि बुधबार बेलुकी कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा मन्त्रालयका अधिकारीले काठमाडौं उपत्यकामा समुदायमा संक्रमण पसिसकेको हुनाले कोभिडको संक्रमणले भयावहको अवस्था ल्याउन लागेको भन्दै उनीहरुले तत्काल थप कडा कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

त्यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्था र भावी दिनमा सरकारले चाल्नुपर्ने कदमबारे सुझाव मागेका थिए । स्वास्थ्यका अधिकारीहरुले काठमाडौं लगायत कतिपय जिल्लामा समुदायस्तरमा संक्रमण देखिएकाले खतराको संकेत गरेको बताएका छन्। उनीहरुले अब गम्भीर रुपमा लिई कदम चल्न सुझाव दिएको बताएका छन्। मन्त्रालय एक उच्च अधिकारीले भने,  ‘पछिल्लो समय जुन तरिकाले संक्रमण फैलिएको छ। यसले खतराको संकेत गरेकाले हामीले त्यही अनुसार कदम चाल्नु पर्ने सुझाव दिएका हौँ।’ देशभर कोरोनाबाट देशमा मृत्यु हुने र संक्रमणको दर हेर्दा १८ दिनमा दोब्बर भइसकेको छ ।

यता काठमाडौँमा संक्रमण दर आठ दिनमै दोब्बर भइसकेको छ। यो अझै बढ्दो क्रममा छ। काठमाडौँको अव्यवस्थित बसोबास र यहाँको ठूलो जन घनत्वका कारण संक्रमण फैलने उच्च जोखिम  भएकोले भयावह स्थिति हुन सक्ने मन्त्रालय ठहर रहेको छ। देशका अन्य स्थानमा कोरोनाबाट देशमा मृत्यु हुने दर  शून्य दशमलव ४ छ। तर काठमाडौंमा मृत्युदर शून्य दशमलव ६ पुगिसकेको छ।

केही समय अघिसम्म देशभरका ६० वर्षमाथिका १ प्रतिशत नागरिक यसको संक्रमणमा परेका थिए। तर अहिले ६० बर्ष माथिका ३ प्रतिशत मानिसहरु यसको संक्रमणमा परिसकेका छन्।  बैठकमा काठमाडौँ उपत्यकामा कन्ट्याक्ट ट्रेसिङलाई चुस्त बनाउनुपर्नेमा जोड दिइएको थियो। त्यस्तै आइसोलेसन थप गर्नुपर्ने सुझाव दिएको  बताइएको छ। बैठकमा स्वास्थ्य मन्त्रालयको तर्फबाट मन्त्री भानुभक्त ढकाल, प्रमुख विशेषज्ञद्वय डा. रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठसहितको टोली सहभागी थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org