ताजा समाचार

नेपाल प्रहरीमा पाँच डिआइजी थपिने, १४ बाट १९ पुर्‍याउँदै

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ ।

गत वर्षको २८ चैतमा डिआइजीको संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँच वटा दरबन्दी थप गर्न तयारी अघि बढाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा डिआइजी दरबन्दी थप गर्न सहमत भएपछि मत्रालयले थप तयारी समेत अघि बढाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

गृह मन्त्रालय स्रोतका अनुसार सो विषयमा प्रहरी प्रधान कार्यालय र मन्त्रालयबीच कति संख्यामा दरबन्दी थप गर्ने भन्नेमा समेत सहमति जुटिसकेको छ ।

प्रधान कार्यालयले महत्वपूण विभागमा डिआइजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डिआइजीबाट पाँच बढाएर १९ पु-याउन प्रस्ताव गरिसकेको छ ।

यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक डिआइजीको दरबन्दी २६ थियो भने सरकारले एकै पटक गत चैतमा संख्या घटाएर १४ मा झारेको थियो । त्यसयता डिआइजी प्रमुख रहेका प्रहरी संगठनका कतिपय विभागहरू एसएसपीको भरमा चल्दै आएका छन् ।

सरकारले डिआइजीको संख्या कटौती गर्दा बढुवाको मुखमा रहेका धेरै एसएसपी मर्कामा परेका थिए भने प्रहरी संगठनभित्र असन्तुष्टिसमेत बढेको थियो । त्यसबखत गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीचपटक पटक भनाभन समेत भएको थियो ।

संख्या थप गर्ने विषयमा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएनएम) समेत गठन भएको थियो । तर हाल उनी गृहबाट रक्षा मन्त्रालय सरुवा भएका छन् । समितिमा प्रहरीतर्फबाट डिआइजी प्रकाशजंग कार्की सदस्य छन् ।

सो समितिले नेपाल प्रहरीमा प्रशासनतर्फका ५ जना डिआइजीको दरबन्दी थप्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव सहमती पछि अर्थमन्त्रालयमा पठाई सकिएको छ ।

अर्थले दरबन्दी थपबारे स्वीकृति दिएपछि सो प्रस्ताव कानुन मन्त्रालयको रायसहित पुनः गृह मन्त्रालयमा आउनेछ । अर्थ र कानुन मन्त्रालयको सहमति पाएपछि गृह मन्त्रालयले स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पठाउनेछ ।

नेपाल प्रहरीतर्फ डिआइजीले नेतृत्व गर्ने कार्यविभाग, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका, लागुऔषध, मानव बेचबिखन, साइबर ब्युरोलगायतका विभाग नेतृत्वविहीन छन् ।

दरबन्दी कटौती हँुदा वरीयतामा अगाडि रहेका धनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी डिआइजीमा बढुवा भएका थिए ।

नेपाल प्रहरीका हाल दुई डिआइजी पद रिक्त छन् भने पाँच दरबन्दी थपिएपछि सात जना एसएसपी वरिष्ठताका आधारमा डिआइजीमा बढुवा हुनेछन् ।

को को छन् दौडमा ?

हालका प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचका तर हाल एसएसपीमै रहेका पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल र शौरभ राणा बढुवाको लाइनमा छन् ।

यसैगरी, त्यसपछिका ब्याचका एसएसपीहरू दिवेश लोहनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नलप्रसाद उपाध्याय, विक्रम चन्द, मसाउद आलम खाँसहितका एसएसपीहरू बढुवाको लाइनमा लागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org