ताजा समाचार

आइसोलेसनमा महिलाको मृत्यु, सँगै बसेका श्रीमान र ५ वर्षीय छोरामा संक्रमण पुष्टि

काठमाडाैँ । कैलालीको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ।

भारतबाट फर्किएर घोडाघोडी नगरपालिका–११ स्थित दशरथ बाल विकास केन्द्रमा व्यवस्थापन गरिएको आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए।

तीन वर्षदेखि उनको दुवै मिर्गौलामा समस्या रहेको र नियमित डाइलासिस गर्नुपर्ने अवस्था रहेको उनले बताए। स्थायी घर बझाङ भएकी उनी भारतबाट आफन्तको घरमा कैलाली आए पछि आइसोलेसनमा राखिएको थियो। मृतकका श्रीमान् र ५ वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको छ।

‘भदौ २ गते श्रीमान् र छोराको स्वाब संकलन गरिएको थियो, तर उनको भने स्वाब संकलन गर्न त्यो बेला छुटेको थियो। छोरा र श्रीमानमा संक्रमण पुष्टि भएको छ’ स्वास्थ्य शाखा प्रमुख रावतले भने, ‘बिहान स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको छ, आज बेलुकासम्म रिपोर्ट आउन सक्छ।’

कोरोना आशंका रहेकाले मृतकको शव व्यवस्थापन गरिएको छैन। कोरोना परीक्षण रिपोर्ट आए पछि शव व्यवस्थापन गरिने स्वास्थ्य शाखा प्रमुख रावत बताउँछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org