ताजा समाचार

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ। बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ। उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो।

बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण  भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए।

मंगलबार उपत्यकामा २३२ सहित थप ८५५ संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ३३ हजार ५३३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ। २४ घण्टामा सात जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। जसमध्ये तीन जना काठमाडौंका हुन्।

भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साता  निषेधाज्ञाको निर्णय गरेको थियो।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यसअघि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको थियो।  उपत्यकामा मात्र संक्रमितको संख्या तीन हजार नाघिसकेको छ। काठमाडौंमा मात्र करिब २८ सयमा संक्रमण पुष्टि भएको छ।

सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org