ताजा समाचार

कुखुराहरुको कल्याणमा अण्डा सप्लायर्सको चासो

काठमाडौं । उपभोक्ताहरुले केज प्रणाली र सोत्तर प्रणालीबाट उत्पादित अण्डाको महत्व बुझ्न नसकेको काठमाडौं उपत्यकामा रहेका थोक अण्डा बिक्रेताहरुले बताएका छन् ।

अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियान अन्तरगत गरिएको कुराकानीमा उनीहरुले यस्तो बताएका हुन् । राजधानी काठमाडौंमा एक दर्जन बढी थोक अण्डा बिक्रेता बर्षौदेखि यो व्यवसायमा आबद्ध छन् । फुलचोकी अण्डा सप्लायर्सका प्रोपाइटर प्रबिण केसीले पशुपन्छी कल्याणका दृष्टिले सोत्तर प्रणालीमा पालिएका कुखुराहरुको व्यवसाय उपयुक्त हुने आफ्नो बुझाई रहेको बताए ।

नेपाल अण्डा उत्पादक संघका महासचिव समेत रहेका उनले काभ्रेमा सोत्तर प्रणाली अपनाई १५ हजार अण्डा उत्पादन गर्ने कुखुरा पालन गरेको बताए । उनले भने, “अन्तराष्ट्रिय जगतमा केज प्रणालीमा कुखुरापालन गर्ने परिपाटी हटाउदै लगिएको र नेपालमा पनि क्रमश यसको प्रभाव बढ्दै जानुपर्छ ।” अण्डा उत्पादन गर्ने कुखुराको कल्याणबारे जनचेतना अभावका कारण उपभोक्ताहरुले केज प्रणालीबाट उत्पादित अण्डा महगोमा खरीद गर्ने गरेको केसीको भनाइ छ । त्यसैगरी ढल्कुस्थित बाराही अण्डा सप्लायर्सका सञ्चालक अनिल कर्माचार्यले ग्राहकको माग अनुसार केज प्रणाली र सोत्तर प्रणालीबाट उत्पादित अण्डा अलग अलग रुपमा बिक्री गर्दै आएको बताए ।

पशु सेवा विभागबाट जारी खाने अण्डा पैठारीको लागि क्वारेन्टाइन मापदण्ड अनुसार अण्डा बिक्री गरिए पनि सबै अण्डामा उत्पादनको मिति लेखिएको नहुने उनको भनाई थियो । उपभोक्ताको माग अनुसार पिजंडामुक्त खोरमा पालिएका कुखुराको अण्डा सप्लाई गर्न आफूलाई कुनै समस्या नहुने कर्माचार्यले उल्लेख गरे ।

यता नागार्जुन नगरपालिकाबाट अण्डाको थोक सप्लाई गर्दै आइरहेको सुबिस पोल्ट्री मार्केटिङ प्रालिले भने केज प्रणालीमा पालिएका कुखुराहरुबाट उत्पादित अण्डा मात्रै बिक्री गर्दै आइरहेको छ । प्रबन्धक कपिल थापाका अनुसार बजारको माग अनुसार अण्डाको बिक्री गरिएको हो । काठमार्डौ उपत्यकामा सप्लाई हुने अण्डाको मुख्य स्रोत भण्डार चितवन हो भने नुवाकोट, नगरकोट, काभ्रेबाट सप्लायर्सको सम्पर्क अनुसार अण्डा भित्रिने गर्छ ।

ललितपुरको भैसेपाटी स्थित बगलामुखी अण्डा सप्लायर्सका प्रोपाइटर बाबुराम पाण्डेले अण्डामा निर्भर रहने नेपाल सरकारको नीति अनुसार उत्पादित अण्डा बिक्री गर्नु परेको बताउछन् । पिजडामुक्त खोरमा गरिने कुखुरापालन पशुकल्याणको मान्यतामा उन्मुख हुने र त्यहाबाट उत्पादित अण्डा पौष्ट्रिकका हिसाबले महत्वको हुने सुने पनि यसको व्यापकता बनाउन सबैको चासो हुनुपर्ने पाण्डेले सुझाब दिए ।

अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त राष्ट्रिय रुपमै विगत एक बर्षदेखि एनिमल नेपालले अभियान सञ्चालन गर्दै आईरहेको छ । अभियानकै शिलशिलामा सो संस्थाले जनचेतना फैलाउन एक स्टीकर सार्वजनिक गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org