ताजा समाचार

जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माइन, आमाको अवस्था गम्भीर

काठमाडाैँ । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्।

धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन्।

प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन्। उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन्।

अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन्। शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ।

तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए।

मंगलबार जन्मिएका शिशुहरूको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नु पर्ने शल्यक्रियामा संलग्न एक चिकित्सकले बताए।

चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ। उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा देखिएकोले डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा पठाइएको डाक्टर सिंह जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org