ताजा समाचार

कित्ताकाट फुकुवा दलाल र माफिया पोस्ने प्रपञ्च : किसान महासंघ

काठमाडौं । सरकारले जमिनको कित्ताकाट खुला गरेकोमा सत्तारुढ नेकपाकै जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले आपत्ति जनाएको छ।

महासंघले प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने र देशलाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने दाबी गरेको छ। पूर्व कृषिमन्त्री हरि पराजुली संयोजक रहेको महासंघले कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र वैज्ञानिक भू–उपयोग सम्बन्धी आवश्यक  नियमावली तथा निर्देशिकाहरु यथाशीघ्र जारी गरी भू–उपयोग ऐनको अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ।  साथै सरकारलाई किसान विरोधी हर्कतहरु नदोहोर्‍याउन महासंघले सचेत गराएको छ।

गठन भएलगत्तै वर्तमान सरकारले देशलाई दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने र ५ वर्षभित्र खाद्यान्न निर्यात गर्ने स्तरमा पुर्या‍उने लक्ष्य घोषणा गरेकोमा त्यसको विपरित भूमिको कित्ताकाट फुकुवा गरिएको महासंघको निश्कर्ष छ। ‘यो निर्णयले नेपालको कृषि भूमिलाई खण्डीकरण गर्ने, गैर कृषि क्षेत्रमा उपयोग हुने अवस्था सिर्जना गर्ने, कृषि भूमिलाई व्यापारको वस्तु बनाउने, गरिब किसानहरुलाई आफ्नो जमिन बलजफ्ति सस्तोमा बेच्न बाध्य बनाई भूमाफिया तथा दलालहरुलाई पोस्ने र नेपाललाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने काम भएको छ।’ महासंघको विज्ञप्तीमा उल्लेख छ।

भूमि बैंक जस्तो विवादास्पद नवउदारवादी कार्यक्रमको घोषणाले नेपालको संविधानमा व्यवस्था भएको वैज्ञानिक भूमिसुधारबारे सरकारको इमानदारितामाथि प्रश्न उठिरहेको समयमा आएको यो निर्णयले भू–उपयोग ऐन र संविधानमा व्यवस्था भएको खाद्य सम्प्रभुताको हकलाई समेत ठाडो चुनौती दिएको महासंघको निश्कर्ष छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org