ताजा समाचार

एसीड प्रहार गर्नेविरुद्ध कडा कानुन बन्दै : १५ दिनमा मस्यौदा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नेपालमा एसीड आक्रमणका दोषीलाई कारबाही गर्न  कडा कानुन बन्ने भएको छ।

एसीड पीडितको माग अनुसार  प्रधानमन्त्री केपी ओलीले अध्यादेश मार्फत् नयाँ कानुन बनाउने बताएका हुन्।

प्रधानमन्त्री ओलीले बिहीबार नै १५ दिनभित्र कानुनको मस्यौदा बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।

‘पीडितको माग अनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गर्नुभएको छ’, छलफलपछि प्रधनमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यस निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ।’

एसीड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनुपर्ने माग गर्दै पीडित समूहले गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिएका हुन्।

नयाँ कानुनमा अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई  छिटो अस्पताल पुर्या‍एर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने छ।

प्रधानमन्त्री ओलीले एसीड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने , पीडितको सम्पूर्ण खर्च सरकारले गर्ने घोषणासमेत गरेका छन्।

एसीड आक्रमणकापछि पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने आश्वासनसमेत प्रधानमन्त्री ओलीले दिएका छन्। पढाइबाहेक अन्य तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले  मिलाउने उनको भनाइ छ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिनेसमेत बताएका छन्।  ओलीले हरेक वर्ष सेप्टेम्बर १० लाई एसीड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न आह्वानसमेत गरेका छन्।

‘सभ्य समाज निर्माण गर्न सरकारले एसीड आक्रमणका घटना नै हुनै दिँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति  सिर्जना गर्न सरकार लागिपर्ने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org