ताजा समाचार

मन्त्रिपरिषद बैठक स्थगित, कुलमान र सरकारका प्रवक्ताबारे निर्णय शुक्रबार

काठमाडौं । नेपाल सरकारको आज (बिहीबार)का लागि तय भएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ।

पार्टीको बैठकको तयारीमा रहेका प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि बैठक नबस्ने भएको हो। शुक्रबार नेकपाको सचिवालय बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रीहरुलाई आज बिहान १० बजे नै बैठक सरेको जानकारी गराएको हो । मन्त्रिपरिषदको आगामी बैठकले सरकारको प्रवक्ता तोक्ने, विद्युत प्राधिकरणको कार्यकारीमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेलगायतका विषयमा निर्णय गर्ने बताइएको छ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडा मनोनित अवधि सकिएपछि सरकारको प्रवक्ता तोकिएको छैन। त्यस्तै विद्युत प्राधिकरणका प्रमुख घिसिङको चार वर्षे कार्यकाल पनि यही भदौ २९ गते सकिँदैछ। नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएको बेला प्राधिकरण सम्हाल्न पुगेका घिसिङले नेपाललाई लोडसेडिङ मुक्त पारेका थिए।

उनलाई पुन विद्युत प्राधिकरणको प्रमुख बनाउन सरकारलाई चर्को जनदबाब छ।  बैठक भोलिका लागि डाकिएको जानकारी आएको ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानीधि भट्टले जानकारी दिए। ‘मन्त्रिपरिषद बैठक आजलाई बोलाइएको थियो,’ उनले भने, ‘अब भोलि बस्ने सूचना आएको छ।’

उनका अनुसार कुलमान घिसिङलाई पुन नियुक्ति गर्ने प्रस्ताव पनि भोलिकै मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ। ‘क्याबिनेट बसेपछि उहाँको (कुलमान) निरन्तरताको लागि प्रस्ताव मन्त्रीज्यूले पेस गर्नुहुन्छ।’  घिसिङलाई ४ वर्षका लागि या २ वर्षका लागि नियुक्ति गर्ने विषयमा भने नेताहरुले केही निर्णय नगरेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org