ताजा समाचार

वीरलाई कोभिड अस्पताल बनाएपछि गंगामायाको बिचल्ली

काठमाडौं  । सरकारले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली भएको छ।

सरकारले देशकै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएपछि विगत ९ वर्षदेखि वीर अस्पतालमा रहेकी अधिकारीको विचल्ली भएको हो।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनसनमा रहनुभएका उनलाई अस्पताल प्रशासनले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै क्याबिन खाली गर्न भनेको हो ।  पहिलो तलाको क्याबिन नम्बर ७ मा रहेकी अधिकारीले त्यहाँ कोभिडका विरामी बस्‍ने भएपछि क्याबिन खाली गर्नुपर्ने भएको हो ।  डाक्टरले कोभिडका विरामी भर्ना गरेपछि स्वास्थ्यको जोखिम हुने भन्दै नबस्न भनेकाले क्याबिन खाली गर्नुपरेको उनले बताइन्।

काठमाडौंमा आफ्नो बस्ने ठाउँ कतै नभएको उल्लेख गर्दै उनले अस्पतालले जहाँ व्यवस्था गर्छ त्यही बस्ने बताइन्। अस्पताल प्रशासनले भने राष्ट्रिय ट्रमा सेन्टरमा बस्ने व्यवस्था गरिने बताएको छ । अधिकारीले क्याबिन भएको ठाउँमा खोज्नुभएको अस्पताल प्रशासनले जनाएको छ । तर ट्रमा सेन्टरमा क्याबिन नभएकाले अहिलेसम्म ठाउँको टुंगो लाग्न सकेको छैन ।

गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरे थियो। त्यसपछि अधिकारीलाई ट्रमा सेन्टरमा सार्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने सरकारले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org