ताजा समाचार

प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी थिइन्।

‘केही दिनदेखि कोरोनासँग मिल्ने लक्षण देखिएको थियो’, उनले भनिन्, ‘पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसिरहेकी छु।

शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताएकी छन्। ‘लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट भएको छैन’, उनले भनिन्, ‘मसँग भेटेका अन्यलाई जानकारी गराइसकेकी छु।’ शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेटेकी थिइन्।

‘डाक्टर केसीको अवस्था बुझ्न उहाँलाई भेटेकी थिएँ’, उनले भनिन्, ‘तर उहाँलाई भेट्दा पनि सामाजिक दूरीसहित स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएकी थिएँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org