ताजा समाचार

डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली

काठमाडौं । १९औँ अनशनरत प्राडा. गोविन्द केसीलाई अनशन बसेको २३ औँ दिनमा सरकारी टोली त्रिवि शिक्षण अस्पताल पुगेर केसीलाई भेटेको छ।
शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले आज डा केसीलाई भेटेको हो।

टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा केसीलाई आग्रह गरेको छ। जवाफमा डा केसीले भने यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भन्नुभएको  बताइएको छ।

आफ्ना मागहरूबारे छलफल गर्ने हो भने औपचारिक रूपमा वार्ता टोली पठाउनुपर्ने  अडान केसीले सरकारी टोलीसमक्ष राखेको बताइएको  छ।

२३ दिनदेखि अनशनरत डा केसी स्वास्थ्य अवस्था बिग्रँदै गएको चिकित्सकहरूले बताएका छन्। उनको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भनेर भन्‍न सक्ने अवस्था नभएको श्‍वासप्रश्‍वासमा धेरै गाह्रो हुन थालेपछि उनलाई अक्सिजनको सहयोगमा राखिएको बताइएको छ।

चिकित्सा शिक्षा सुधारलगायत मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका ६ को बाबिरा मष्ट मन्दिरबाट १९ औं अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई आठौँ दिनमा काठमाडौं ल्याइएको थियो। डा केसीले १९औं अनशन सुरु गरेको मंगलबार २३ दिन पुगेको छ।

२३ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आवासीय चिकित्सकहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। आइतबारदेखि आन्दोलन थालेका आवासीय चिकित्सकहरु मगलबार पनि सेवा रोकेका छन्।

सोमबारै केसीको आन्दोलनमा समर्थन जनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्मा त्रिवि शिक्षण अस्पताल पुगेर केही बेर धर्नामा बसेका छन्।  यता चिकित्सकहरुको  साझा संस्था नेपाल चिकित्सक संघले समेत केसीको माग सम्बोधन गरी उनको उनको जीवनरक्षाको माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org