ताजा समाचार

गुरुयोजनाको विरोध गर्दै स्थानीयले घेरे पशुपति विकास कोष

काठमाडौं । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाइ घेराउ गरेका छन् ।

पशुपतिनाथको प्राचीनता मास्‍ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोधअन्तर्गत आज (बुधबार) कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन् ।

स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वकालदेखिको बस्ती मास्‍ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्राको विनाश गर्ने गरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समिति संयोजक आशामान सङ्गतले पशुपति क्षेत्रभित्र रहेका १४० पर्व र ४० वटाभन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकाले विरोध गर्नुपरेको बताए । कोषले ल्याएको गुरुयोजनाको खारेजीको माग गर्दै आफूहरुले दोस्रो चरणको विरोध स्वरुप आज कोषको कार्यालय घेराउ गरिएको बताए ।

वाग्मती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तोनाटक गरिरहेको बताए । तर सरकारले स्थानीयका कुनै पनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको उनले बताए ।

उनले खासगरी स्थानीयले गुरुयोजना खारेज गर्न, पशुपति क्षेत्र विकास कोषको खारेज गरी काठमाडौंम महानगरपालिकाअन्तर्गत ल्याउन माग गरेको बताए । तर सरकार संवेदनशील नभएकाले कोभिड संक्रमणको जोखिमका बीच पनि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए ।

पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरुको भनाइ छ । स्थानीय बस्ती हट्नेभन्दा पनि पशुपति क्षेत्रभित्रका जात्रा, पर्वहरुको विनाश हुने चिन्तामा आफूहरु रहेको स्थानीय बताउँछन् ।

पशुपति क्षेत्र विकास कोषले गत साउनमा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो । कोषले तयार पारेको एक सयवर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org