ताजा समाचार

सरकार र डा.केसी सहमति नजिक, प्रारम्भिक मस्यौदा प्रधानमन्त्रीकहाँ पठाइयो

काठमाडाैँ ।  सरकार र चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी पक्षबीच प्रारम्भिक सहमति जुटेको छ।

बिहीबार दुई चरणमा भएको वार्तामा प्रारम्भिक सहमति जुटेको हो। सहमतिको प्रारम्भिक मस्यौदा मुख्यसचिवमार्फत गए राति नै प्रधानमन्त्री केपी ओलीकहाँ पठाइएको छ। आज (शुक्रबार) थप वार्ता गरेर औपचारिक सहमति गर्ने तयारी दुई पक्षले गरेका छन्।

बिहीबार बिहान साढे १० बजेबाट शिक्षा मन्त्रालयमा सरकार र डा.केसी पक्षबीच वार्ता शुरु भएको थियो। वार्ता दिउँसो २ घण्टा रोकिएर पुनः सुरु भएको थियो। वार्ताका क्रममा उठेका विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै दुबै टोली राति साढे ८ पुनः छुट्टा छुट्टै छलफलमा बसेका थिए। त्यसपछि भएको वार्तामा प्रारम्भिक सहमति जुटेको हो।

डा.केसी पक्षका वार्ता समितिका सदस्य तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीका अनुसार प्रधानमन्त्री ओलीले मस्यौदामा अध्ययन गरेपछि आज थप छलफल हुने छ।

कार्कीले बिहीबारका दुई वार्ता सकारात्मक भएको बताए। चिकित्सा शिक्षा सुधारसहितका विभिन्न ६ सूत्रीय माग राखेर डा.केसी २५ दिनदेखि अनशनरमा छन्।

यस्ता छन् केसीका माग र सहमतिको प्रारम्भिक मस्यौदा
माग १ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायतका कार्यक्रमहरू सञ्चालन गरियोस् । गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गरियोस् । प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

सहमतिको मस्यौदा : डा.केसीले उठाएको पहिलो मागप्रति दुवै पक्ष सकारात्मक देखिएका छन् । उनीहरू आउने वर्ष अर्थात् आगामी वर्षबाट एमबिबिएसको सिट निर्धारण गरी पठनपाठन सुरु गर्ने र त्यसका लागि चाहिने स्रोत–साधन अहिल्यैदेखि जुटाउन सुरु गर्नेमा सहमत भएका छन् ।

माग २ : मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।

सहमतिको मस्यौदा : सरकारले पिसिआर परीक्षणलाई बढाउँदै लैजाने । देशमा आइसियू र भेन्टिलेटरको अवस्था न्यून भएकाले त्यसको समेत क्षमता बढाउने । राज्यको स्रोत र साधनले भ्याएसम्म काम गर्ने विषयमा पनि दुवै पक्ष सहमत छन् ।

माग ३ : हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

सहमतिको मस्यौदा : विगतमा विभिन्न कार्यदल बनेको छ । उक्त कार्यदलले दिएको रिपोर्टअनुरसार अघि बढ्ने ।

माग ४ : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस् ।

सहमतिको मस्यौदा : दुवै पक्षबीच यस विषयमा छलफल जारी छ । तर, सधैँको विवाद अन्त्य गर्न उनीहरू कानुनै बनाएर अघि बढ्ने विषयमा भने सहमतिमा पुगेका छन् ।

माग ५ : बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गरियोस् ।

सहमतिको मस्यौदा : सरकारले बयलपाटा अस्पताल चाँडै सञ्चालनमा ल्याउने, आवश्यक बजेट दिने । जतिसक्दो चाँडो अस्पताल सञ्चालनमा ल्याउने र आवश्यक पूर्वाधार तयार गर्नेमा पनि सहमति बनेको छ ।

माग ६ : राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइडबडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्डलगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कानुनबमोजिम छानबिन र कारबाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही चलाइयोस् । यी सबै प्रकरणका दोषीहरूलाई कारबाही नगरेर सत्ताको इसारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवानिवृत्त आयुक्तहरूमाथि पनि कानुनबमोजिम छानबिन र महाभियोगलगायतका कारबाही गरियोस् । अख्तियारका आयुक्तलगायत सबै दोषी व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।

यो मागमा भने खासै छलफल भएको छैन।

चिकित्सा शिक्षामा सुधारको माग राखी डा. केसी २५ दिनदेखि अनसनमा छन्। लामो असनले डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org