ताजा समाचार

कर्णालीबाट आएका नेतासँग खुमलटारमा अलग्गै ब्रिफिङ

काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि काठमाडौं बोलाइएका कर्णालीका नेताहरूसँग नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दिउँसो मुख्यमन्त्री शाहीलगायत नेताहरूसँग खुमलटारमा छलफल गरेका छन्।

उक्त छलफलमा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए।

‘उहाँले बोलाएपछि हामी गएका थियौं। प्रधानमन्त्रीले पनि बोलाउने भन्नुभएको छ। तर समय अझै फिक्स भइसकेको छैन,’ छलफलमा सहभागी नेकपा केन्द्रीय समिति सदस्य निरज आचार्यले  भने,’बोलाउनु भयो भने उता पनि जाने हो।’

सुर्खेतबाट बोलाइएका सबै नेताहरू काठमाडौं आइसकेका छन्।

प्रचण्डसँगको भेटघाटमा शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेतृत्व गरेका सांसद यामलाल कँडेल भने सहभागी थिएनन्।

खुमलटार पुगेका नेताहरूको कुरा सुनेपछि प्रचण्डले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेर  उनीहरूलाई संयुक्त छलफलमा बोलाउने बताएका थिए।

‘पहिला दुई अध्यक्षले छुट्टाछुट्टै कुरा गर्ने अनि सम्भवत: भोलि संयुक्त रूपमा कुरा गर्ने भन्ने छ,’ प्रचण्डनिकट स्रोतले भन्यो।

यसअघि गत मंगलबार प्रधानमन्त्री ओली र प्रचण्डले पत्र पठाउँदै मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, सांसद कँडेल, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई सबै कुरा यथास्थितिमा राखी २९ गतेभित्र पार्टी कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका थिए।

मुख्यमन्त्री शाही पक्षका नेताहरू बुधबार नै काठमाडौं आएका थिएँ। कँडेल पक्षधर नेताहरू बिहीबार बिहानमात्र काठमाडौं पुगेका हुन्।  प्रदेश सभा सांसद चन्द्रबहादुर शाहीले अहिलेसम्म प्रधानमन्त्रीले बालुवाटार नबोलाएको बताए।

‘बिहान आइपुगेका हौं। आफ्नै हिसाबले बसिरहेका छौं। खुमलटार गएनौं।  प्रधानमन्त्रीले बोलाउनु भयो भने बालुवाटार जान्छौं, ‘ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org