ताजा समाचार

बालिका बलात्कारपछी हत्या गरिएको भन्दै प्रदर्शन, प्रहरीको गोलीले एक घाइते

काठमाडाैँ । बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले मंगलबार शव सडकमा राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । स्थानीय सञ्जय न्यौपाने गोली लागेर घाइते भएका हुन् ।

बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको शव फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको आफन्तले बताएका छन् ।

बालिकाको हत्या गरेको आशंकामा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । साहले बालिकाको हत्या गरेको स्विकारिसकेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले बताए ।

प्रदर्शनकारीले दोषीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन् । प्रदर्शनकै कारण पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको उक्त खण्डमा बिहानैदेखि सवारी अवरुद्ध छ । टायर बालेर नाराबाजी गरिरहेका स्थानीयले पक्राउ परेका साहको घरमा आगजनीसमेत गरेका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले २२ सेल अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले सडकमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org