ताजा समाचार

उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा  आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

चुनावी साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली वेभिनारमार्फत उद्घाटन गर्नेछन् ।  मंसिर ११ गते बिहान साढे ११ बजे उद्घाटन हुने साधारण सभामा मंसिर १२ गते जुम प्रविधिबाट हुने बन्दसत्र सञ्चालन हुने छ । यस्तै निर्वाचन तथा मतदान मंसिर १३ गते विहान ८ बजेदेखि हुने महासंघको निर्वाचन समितिले जनाएको छ ।

प्रधानमन्त्रीले बालुवाटारबाटै कार्यक्रमको उद्घाटन गर्ने भएका छन् ।  बालुवाटारमा पदाधिकारी, पूर्वअध्यक्षहरु पुग्नेछन् । बाँकी सदस्यहरु जुममार्फत उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

उद्योग वाणिज्य समूहको मतदान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहतर्फको कार्की व्याङकेट माइतीघरमा र बस्तुगत संघ समूहको महासंघको सचिवालय, टेकुमा हुने छ । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने पनि महासंघले जनाएको छ । त्यस्ता मतदाताहरु भए आफै वा आफ्नो संस्था मार्फत यथाशक्य चाँडो निर्वाचन समितिलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा महासंघको आगामी अध्यक्ष हुनेछन् ।

वरिष्ठ उपाध्यक्षसहित जिल्ला–नगर, वस्तुगत र एसोसिएटतर्फको उपाध्यक्ष एवं कार्यकारी समिति सदस्यका लागि प्यानलसहित नै दुईवटा समूह बनेको छ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानबीच निर्वाचन हुने छ । ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।

यस्तै प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योती रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरु पनि प्यानलमै आवद्ध भएका छन् ।

६४ पदका लागि १ सय २४ को उमेदवारी

वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि १ सय २४ जनाको उमेदवारी परेको छ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध चयन भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला–नगर तथा एसोसिएटतर्फ एक–एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १ सय २४ जनाको उमेदवारी परेको हो ।
जिल्ला–नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेदवारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २८ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३१ जनाको उमेदवारी परेको छ ।

एकजना संस्थागत समूहका लागि तीनजनाको उमेदवारी परेको छ ।  प्रदेशतर्फ वागमती र लुम्बिनी प्रदेशबाट तीन–तीन जनाको उमेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ६ र सुदूरपश्चिम प्रदेशबाट २–२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेदवारी दिएका छन् ।  केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध चयन भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org