ताजा समाचार

कोभिडले सिर्जना गरेको चुनौती सामना गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण: अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीबाट प्रभावित बनेको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्रबीचको सहकार्य जरूरी रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रको पुनरूत्थानका लागि सरकारले अग्रभागमा रहेर काम गर्ने र त्यसमा निजी क्षेत्रको भूमिका पनि त्यतिकै रहने बताएका हुन्।

‘‘अहिले कोभिड-१९ ले विश्वव्यापी र हाम्रो अर्थतन्त्रमा चुनौती सिर्जना गरेको छ। यो चुनौतीलाई पार गर्दै अर्थतन्त्रलाई पुनः गतिशील र सबल बनाउन अग्रभागमा रहेर काम गर्न सरकार तयार छ,’’ उनले भने, ‘‘तर, सरकारले मात्रै सबै गर्न सम्भव हुँदैन। निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहन्छ। त्यसैले सरकार र निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्न जरूरी छ।’’

विशेषगरी लगानी वृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण हुने उनले बताए। सहकार्य लागि आफू तयार रहेको समेत उनले बताए।

कोभिडका कारण सिर्जित समस्यालाई सम्बोधन गर्न सरकारले बजेट र मौद्रिक नीतिमा केही व्यवस्था गरेको भए पनि त्यो पर्याप्त नभएको उनले स्वीकार गरे। आगामी दिनमा सरकारले गर्नुपर्ने कार्यका लागि रचनात्मक सुझाव प्रस्तुत गर्न अर्थमन्त्री पौडेलले निजी क्षेत्रका प्रतिनिधिसँग आग्रह गरे।

आफू धेरै बोल्ने भन्दा पनि नतिजामुखी काम गर्नेमा केन्द्रित रहेको उनले बताए।

निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै अर्थमन्त्री पौडेलले नयाँ कार्यसमितिसँग सहकार्य गर्न आफू आतुर रहेको जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org